काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका कामहरु गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले जथाभावी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्हरुको सामना गर्नुपरेको बताउनुभएको हो । उहाँले गत असोजमा आएको बाढी, पहिरोले बाटो र सडक निर्माण गर्नु मात्र विकास र समस्याको समाधान होइन भन्ने पुष्टि गरेको बताउनु भयो ।
नेपालको भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्र विकास निर्माणका कामहरु गर्नुपर्ने भन्दै हतारमा मेसिनहरुको प्रयोग गर्नु घातक हुने मन्त्री सिंहले बताउनुभयो । देशको भौगोलिक अवस्थितिबारे गहन रुपबाट सोच्न जरुरी रहेको उल्लेख गर्नुभयो । तीन तहकै सरकार मिलेर काम गरेमात्रै सोचेअनुरुपको नतिजा निस्किने बताउनुभयो । विकासको लागि सडक शुरुवाती बिन्दु रहेको भन्दै प्रविधिमैत्री सडक बनाउने कुरामा लाग्न जोड दिनुभयो ।
नेपालमा सडक तथा बाटो निर्माण गर्दा मेसिनहरुभन्दा जनशक्ति उपयोग गरेर निर्माण गर्दा दिगो एवं प्रकृतिमैत्री हुने उहाँले बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।