पोखरा । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ ।
लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको जहाजबाट सोमबार सिमरा पुर्याइएको हो । सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्याएको हो । यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ ।
रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।
सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।