- खबरसाईट समचारदाता
धादिङ २०८१ माघ १० -राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङको आयोजनामा हुन गईरहेको लोक सांस्कृतिक महोत्सव (१० -२० माघ २०८१ )को आज उदघाटन हुने भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा आयोजना गरिएको महोत्सवको उप प्रधानमन्त्री प्रकाशमान सिहले उदघाटन गर्नुहुने भएको छ । महोत्सवको उदघाटन हुनुअघि सदरमुकाम धादिङबेसीका विभिन्न भागबाट जातिय, सांस्कृतिक, धार्मिक पहिचान सहितको झाँकीहरु निकालिने छन ।
‘‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् धादिङ सामुदायिक सञ्चार तथा विकास केन्द्रका अध्यक्ष दिपक कोइरालाले बताउनु भयो ।
निलकण्ठ नगरपालिका संरक्षक, धादिङ उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्श धादिङ प्रवद्र्धक रहेको महोत्सवको सहयोगीहरुमा धादिङ जिल्लाका १३ वटै पालिका, जिल्लाका जातिय तथा सांस्कृतिक, साहित्यिक संघ संस्थाहरु, पर्यटकीय संस्थाहरु रहेका छन् । महोत्सवको मुख्य आकर्षणको रुपमा जिल्लामै पहिलोपटक अन्तरपालिका लोक दोहोरी प्रतियोगिता रहने भएको छ
महोत्सवमा करिब १ सय वटा स्टल रहनेछ । महोत्सव करिब १ लाखदर्शकले अवलोकन गर्ने र ३ करोडको कारोवार हुने लक्ष्य राखिएको आयोजकले वताएका छन ।
महोत्सवमा धादिङ जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार एवम् प्रवर्द्धनको लागि पर्यटकीय क्षेत्रहरुको जानकारी गराउनुको साथै विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी रहेको बताइएको छ ।मौलिक र जातिय पहिचान झल्काउने खानालाई महोत्सवमा प्राथमिकतामा राखिएको छ ।
मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरु हेर्न पाइने लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले बताइन् । यो महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि ‘कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने लक्ष्य राखिएको अध्यक्ष गैरेले जानकारी दिईन । ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
