धादिङ, १० माघ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन ।
बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
‘हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको हुन्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीले साँस्कृतिक महोत्सवहरू मनाइ रहनुपर्छ ।’ उनले भाषा, सँस्कृति विर्सिए पहिचान मेटिने भन्दै आफ्नो संस्कृति, भेषभूषा, कला सँस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नो कला, धर्म,सँस्कृति जगेर्ना गर्न राम्रो वातावरण बनेको पनि बताए । लोक सँस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोमा उनले प्रशंसा पनि गरेका छन ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाको पूर्वाधार विकासमा सङघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारले मिलेर काम गर्ने बताए। ‘आवश्यक्ता अनुसार प्राथमिकतामा राखेर तीनै तहका सरकार मिलेर काम अघि बढाउने छौं, सबै काम एकैपटक हुँदैन, नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछौ,’ उनले भने ।
जिल्ला सदरमुकाम धादिङबेँसीस्थित खुला मञ्चमा आजबाट शुरु भएको लोक सांस्कृतिक महोत्सव माघ १० गते माघ २० गते संचालन हुनेछ । ‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारा सहित सुरु हुन लागेको महोत्सव राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले आयोजना गरेको हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
