- खबरसाईट समाचारदाता
धादिङ,२ फागुन २०८१ । कार्यसम्पादन मूल्यांकनमा धादिङको नेत्रावती डवजोङ गाउँपालिका देशैभरको उत्कृष्ट गाउँपालिका बनेको छ ।आगामी आर्थिक वर्ष २०८२/०८३ मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको छ ।मूल्यांकनमा देशभरका महानगरपालिकाभन्दा गाउँपालिका अगाडि देखिएका छन् ।
आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार धादिङको नेत्रावती डवजोङ गाउँपालिका देशभरकै उत्कृष्ट भएको छ । नेत्रावती डवजोङले आयोगको मुल्याङ्कनमा ७८.२ अंक प्राप्त गरेको नेत्रावती डवजोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम साह जानकारी दिए । नेत्रावती डवजोङ गाउँपालिकासँगै स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले समान ७८.२ अंक प्राप्त गरेको छ । आयोगले ३० माघमा कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक गर्दै तथ्याङ्क र प्राप्ताङ्कमा परिमार्जन गर्न परे ठोस प्रमाण सहित ७ दिन भित्र कार्यविधि बमोजिम पुनरावलोकनका लागि पत्र पठाउन स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।
दुई नगरपालिका ११ वटा गाउँपालिका रहेको धादिङ जिल्लामा आयोगको मुल्याङ्कन अनुसार नीलकण्ठ नगरपालिकाले ७६.५, बेनिघाट रोराङ गाउँपालिकाले ७४. ४, गंगाजमुना गाउँपालिकाले ६१.९, गल्छी गाउँपालिकाले ६०.७, ज्वालामुखी गाउँपालिकाले ५९.१, सिद्धलेक गाउँपालिकाले ५७.६, धुनीबेशी नगरपालिकाले ५५.९, थाक्रे गाउँपालिकाले ५५.६, त्रिपुरासुन्दरी गाउँपालिकाले ५५.३, गजुरी गाउँपालिकाले ५४.४, खनियाबास गाउँपालिकाले ५२.७ र रुवीभ्याली गाउँपालिककाले ४८.८ अंक प्राप्त गरेका छन् ।
वित्त आयोग ऐन, २०७४ बमोजिम वार्षिक रुपमा मुल्याङ्कन गर्ने गर्दछ । आयोगको मूल्यांकन रिर्पोट अनुसार अधिकांश स्थानीय सरकारबाट तथ्यांक उपलब्ध हुनै मुस्किल देखिएको छ । जसले गर्दा ती तहहरुको कार्य सम्पादन मूल्यांकनमै असर परेको छ । आयोगले प्रदेश सरकारको कार्य सम्पादनका लागि कुल ११ वटा सूचकमा मूल्यांकन गरेको छ ।
स्थानीय तहको प्रयोजनका लागि भने १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गरिएको हो । संघीय सरकारले विना शर्त प्रदेश र स्थानीय तहमा पठाउने अनुदान नै वित्तीय समानीकरण अनुदान हो । यस्तो अनुदानको सिफारिस गर्ने जिम्मेबारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पाएको छ । यस्तो सिफारिस गर्दा आयोगले सुत्र बनाउँछ । जसमध्ये एक मापक कार्य सम्पादन मूल्यांकन हो ।
- देशभरकै पालिकाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
