काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल आज भएको भेटमा उनले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताए ।
‘अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,’ विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै भने, ‘मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकका विषयलाई सरकारले प्राथमिकता दिनुपर्छ ।’
शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष दाहालले देशको समृद्धिको मुख्य आधार शिक्षा नै भएकाले माग सम्बोधनमा गम्भीर हुन सरकारलाई आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ । साथै उनले विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहने प्रतिबद्धता व्यक्त गरे ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
