काठमाडाैं । सरकारले चालु अधिवेशन (हिउँदे अधिवेशन) अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चैत १९ गते मंगलबार राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । चालु अधिवेशन गत माघ १८ बाट सुरु भएको थियो । यो अधिवेशनबाट धेरै भन्दा धेरै विधेयक पास गर्ने गरि संसदलाई चलायमान बनाउने भन्दै बैठक बोलाइए पनि पर्याप्त विधेयक पास हुन सकेनन्।
संघीय संसदको प्रतिनिधि सभाको बैठक मंगलबार ११ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक भने बस्दै नबसी टुंगिने भएको छ। राष्ट्रिय सभाको बैठक चैत २५ बजे सवा १ बजे बोलाइएको भए पनि १९ गते नै अधिवेशन अन्त्य भएपछि बैठक नै नबसी टुंगिने भएको हो । यस्तै मन्त्रिपरिषद्को बैठकले म्यानमारमा नेपाली सेनाको टोली पठाउने भएको छ । गएको शुक्रबार म्यानमारमा शक्तिशाली भूकम्प गएर धेरै जनधनको क्षति भएको छ। २ हजार ५०० बढी मानिसको मृत्यु भएको छ भने त्यतिनै संख्यामा मान्छेहरु हराइरहेका छन् ।
चिकित्सकसहितको नेपाली सेनाको टोलीले म्यानमारमा राहत, उद्धार र उपचारमा म्यानमार सरकारलाई सघाउने छ। यस्तै सरकारले नेपाल वायुसेवाको विमानमा औषधि तथा राहत सामग्री म्यानमार पठाउने निर्णय पनि गरेको छ । यस्तै मन्त्रिपरिषद्को बैठकले थाइल्याण्ड रहेको एशियन इन्सिच्युट अफ टेक्नोलोजीलाई १ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक सम्मेलनका लागि थाइल्यान्डको बैंकक जाँदै हुनुहुन्छ। बैंककमा रहँदा प्रधानमन्त्री ओलीले एशियन इन्सिच्युट अफ टेक्नोलोजीमा विशेष मन्तब्य राख्नुहुने कार्यक्रम छ। सोहि अवसरमा नेपाल सरकारको १ लाख अमेरिकी डलरको सहयोग हस्तान्तरण गर्नुहुने कार्यक्रम छ। नेपाल एशियन इन्सिच्युट अफ टेक्नोलोजीको संस्थापक सदस्य रहेको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
