काठमाडौं– राजनितीमा स्थायी शत्रु र मित्र कोही हुँदैनन त्यतिकै भनिएको होइन । कुनै बेलाका सहकर्मीहरु अहिले फरक फरक पार्टी बनाएर एक अर्काको विरोधमा न्वारन देखिको बल लगाउने गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबिच अहिले घुमाउरो बाटोबाट सामिप्यता बढ्दै गएको छ ।
त्यसो त माधव नेपाल केपी ओली भन्दा भन्दा सिनियर नेता हुन् । दुबैले नेकपा एमालेमा लामो समय काम गरे । १५ वर्षसम्म माधव नेपाल एमालेको शीर्ष नेतृत्वमा रहे । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेता नेपाल आफ्ना सहकर्मीका साथ बालुवाटार पुगेका थिए । भेटमा नेता नेपालले प्रधानमन्त्री ओलीलाई आफ्ना मागहरुको सूची बुझाए ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीका नेताहरुसँग खुलेर कुराकानी गरेका थिए । भ्रष्टाचारीहरुले देश विकासमा बाधा पु¥याइरहेको र आफू भ्रष्टाचारविरुद्ध लडिरहेको प्रधानमन्त्री ओलीले बताएका थिए । एकीकृत समाजवादीका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा चिया–बिस्कुटले स्वागत गरिएको थियो ।
एकीकृत समाजवादीले बुझाएको ज्ञापनपत्रबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले आगामी बजेटबाट सम्वोधन गर्न सकिने विषयलाई सम्वोधन गरिने आश्वासन दिएका थिए ।





