धादिङ, ४ जेठ २०८१ । सिद्धलेक गाउँपालिकाको वडा नम्बर ७ पिपलटारमा प्रजनन स्वास्थ्य रुग्णता जाँच तथा व्यवस्थापन सम्वन्धी शिविर सम्पन्न भएको छ ।
सिद्धलेक गाउँपालिकाको आयोजना तथा जिल्ला अस्पताल धादिङको प्राविधिक सहयोगमा सिद्धलेक गाउँपालिका वडा नम्बर ७ पिपलटारमा रहेको महाकाली माध्यमिक विद्यालयमा जेठ ३ गते शनिवार सो शिविर सम्पन्न भएको हो ।
शिविरमा प्रजनन रुग्णता (महिलाको पाठेघर मुखको क्यान्सर पहिचानको लागि (भिआईए जांच) स्तन क्यान्सर परिक्षण, आङ खस्ने समस्या पहिचान रिङ प्रेसरी राख्ने ,पिसाब चुहिने समस्या जाँच तथा उपचार एवं जटिलता व्यवस्थापन गर्ने बिषयमा प्राविधिकहरुबाट सेवा तथा परामर्श सहित स्वास्थ्य शिविर आयोजना गरिएको थियो । सिद्धलेक गाउँपालिका वडा नं ७ का वडाध्यक्ष सानो गिरीको अध्यक्षता तथा गाउँ पालिका अध्यक्ष परशुराम खतिवडाको अतिथ्यतामा स्थानीय १०४ वर्षकी को नागरिक जानुका देवि रिमाल को रक्तचाप परिक्षण गरि कार्यक्रम शुभारम्भ गरिएको थियोे ।
कार्यक्रममा २०२ जना महिलाको स्वास्थ्य परिक्षण, भिआईए परिक्षण १३० जना १ जना रियाक्टिभ पोजेटिभ, आङ खस्ने समस्या भएका १३ जना, पिसाब लिकेज २ जना, पाठेघरमा अन्य समस्या ७ जनाको स्वास्थ्य परिक्षण गरिएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पताललाई प्रेषण गरिएको सिद्धलेक गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख शंकरबाबु दुवाडीले बताउनु भयो ।





