काठमाडौँ, ५ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले आज सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गर्नु भएको छ ।
आज एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी बितरण कार्यको शुभारम्भ गर्नु भएको हो । आजबाट विधिवत रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय एवं कार्यालयहरुमा वितरण गरिने मन्त्री यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजबाट सिंहदरबारमा विधिवतरुपमा मेलम्चीको पानी आएको छ । यसभन्दा पहिले भुमिगतको पानी सिंहदरबारमा आएको थियो । अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ ।”
यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको जार र बोतलको पानी विस्थापित गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिंहदरबारमा मेलम्ची खानेपानी वितरण कार्यको विधिवत रूपमा शुभारम्भ गरेको छु । अब जार र बोतलको पानी विस्थापित हुन्छ ।”
सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालयहरू तथा कार्यालयहरूमा मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी पुर्याउनका लागि पाइप लाइनको विस्तार गरिने समेत मन्त्री यादवले जानकारी दिनुभयो ।
मन्त्री यादवले धाराबाट आएको मेलम्चीको पानी सिधै पिएर वितरण कार्यको औपचारिक सुरुवात गर्नु भएको थियो । उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलदेबी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवसथापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेल लगायतको सहभागिता रहेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
