आजको राशिफल बि.सं. २०८२ असार १२ गते बिहिबार ई.सं. २०२५ जुन २६ नेपाल सम्बत ११४५ दिल्लाथ्व पारू, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल प्रतिपदा, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, ध्रव योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १० मिनेट देखि ०६ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुध् दिवस पनि रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । मिहिनेत गर्दा लक्ष्यको नजिकै पुग्न सकिने छ, तर मनमा छटपटी र कौतूहलता व्याप्त हुनेछ । काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ, औजार, हातहतियार, किराना सामाग्री, मनिहारी वा सरकारसम्बद्ध ठेक्कापट्टाका व्यवसायीले लाभ पाउनेछन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । पतिबाट कुनै उपहार वा भौतिक उपकरण प्राप्त गर्नाले मन फुरुङ्ग हुनेछ । मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ । निर्णय लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । मौखिक अभिव्यक्तिका माध्यमबाट नयाँ अवसर मिल्नसक्छ, हातमा अचानक नसोचेको धन प्राप्ति हुनेछ । त्यस्तै कारोबार विस्तारका लागि धनलगानी गर्ने परिस्थिति देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ, आपसी सम्बन्धमा पनि मनोमालिन्य बढ्ने दिन हो । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बौद्धिक सामर्थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ । भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । आकस्मिक रूपमा नचिताएको ठाउँबाट विशेष लाभ पाउन सक्नुहुन्छ । कमाएको केही अंश साथीभाइ, भाइबहिनी वा छोराछोरीको चाहना पूरा गर्न खर्च गर्नुपर्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ । विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । सहयोगको भावना पलाउने दिन हो, कुनै महत्त्वपूर्ण काममा कसैको सहयोग गर्नुपर्ने वा परोपकारी काममा लगानी गर्ने परिस्थिति बन्नेछ । छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ, अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काममा रुचि हुनेछैन, बरु रहस्य, अध्यात्म, तन्त्रमन्त्र र जादूटुनाका विषयमा रुचि बढ्न सक्छ, तर पनि नसोचेको धन हातमा आइपुग्ने दिन छ । प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन, तर परीक्षामा खरो उत्रन अझ धेरै मिहिनेत गर्ने समय हो । ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रयास गरेको कुनै पनि साधनाले पूर्णता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरपरिवारमा माङ्गलिक कार्यको कुराकानी वा पूजापाठ आदिको आयोजना हुनसक्छ । प्रेम, प्रणय र भावनामा मनको आकर्षण रहनेछ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ, आजको केही समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । घरायसी बन्दोबस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन्, त्यस्तै पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ ।
(ज्योपं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद)
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
