काठमाडौँ । संसदीय सुनुवाइ समितिले आज सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषदका सदस्यको सुनुवाई गर्ने भएको छ ।
बिहान ८ बजे बस्ने समितिको बैठकमा आज सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापा तथा न्यायपरिषद्को सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता महेश नेपालको सुनुवाई गर्ने कार्यसूची रहेको छ ।
यस अघि समितिको शनिबारको बैठकमा उजुरीकर्तासँग छलफल गरेको थियो ।
न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका थिए ।
समितिले सुनुवाई गरेपछि राष्ट्रपतिले सर्वोच्चका न्यायाधीश नियुक्ति गर्ने कानुनी प्रावधान रहेको छ ।





