धादिङ – ‘आमाका बारेमा सोच्नुस्’ भन्दै जेन्जी आन्दोलनका क्रममा प्रहरी संग वादविवाद गरेर सामाजिक सञ्जालमा भाइरल भएका ३० वर्षीय यमबहादुर कँडेल (जिरे) ले आफ्नै ५५ वर्षीया आमा राममायाको हत्या गरेका छन्। दसैं मनाउन काठमाडौंबाट घर फर्किएका कँडेलले आइतबार राति खुँडाले प्रहार गरी आमाको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी भेषराज रिजालका अनुसार आइतबार साँझ करिब साढे ८ बजेतिर त्रिपुरासुन्दरी गाउँपालिका–५ थापा कटेरीस्थित आफ्नै घरमा आमालाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । कँडेललाई घटनास्थलबाट नै प्रहरीले नियन्त्रणमा लिएको छ।
छिमेकी शंकर अधिकारीका अनुसार कँडेल पहिलेदेखि झगडालु र सन्काहा स्वभावका थिए। दिउँसोदेखि नै आमाबुवासँग वादविवाद भइरहेकाले आमाले ‘उपचार गर्न जा’ भनेपछि उनी झन् आक्रोशित बनेका थिए। त्यसपछि उनले आँगनमा रहेकी आमामाथि खुँडाले तीन पटक प्रहार गरी ज्यान लिएका थिए।
हत्या गरेपछि उनले बुवालाई समेत धम्की दिएका थिए। ‘अब दाजुलाई मार्छु’ भन्ने धम्की दिएका उनले छिमेकीहरूलाई समेत तर्साएका थिए। प्रहरीका अनुसार उनी मानसिक रूपमा अस्थिर देखिएका छन्।
कँडेलका दुई दाजु क्रमशः ताइवान र पोर्चुगलमा छन्। उनले विगतमा मलेसिया बैदेशिक रोजगारी गर्न गएर केही समयमै फर्किएका थिए त्यस पछि नेपालमा विभिन्न व्यवसाय प्रयास गरे पनि असफल भएका थिए। पछिल्लो समय काठमाडौंमा पठाओ चालकका रूपमा काम गर्दै आएका उनी दसैं मनाउन अघिल्लो आइतबार गाउँ फर्किएका थिए।
आमाको शव पोष्टमार्टमका लागि धादिङ अस्पतालमा राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
