काठमाडौं, १५ कात्तिक।माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी विभाजनको संघारमा पुगेको छ। शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समूह असन्तुष्ट बनेको छ।
बैठकमा अध्यक्ष नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने प्रस्ताव पेस गर्दै समर्थन जुटाएका थिए। उनले केन्द्रीय कमिटीमा आफ्ना नजिकका ८८ जना सदस्य थप मनोनित गरेर बहुमत सुनिश्चित गरेको असन्तुष्ट पक्षको आरोप छ।
तर, सो निर्णयमा वरिष्ठ नेता झलनाथ खनालले तीव्र असहमति जनाउँदै अब नयाँ राजनीतिक बाटो लिने संकेत दिएका छन्।
खनालले भने, “अब हामी अर्को पार्टी बनाउँछौँ। यही पार्टीका विचार मिल्ने साथीहरू मिलेर नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौँ, नभए नयाँ पार्टी बनाउँछौँ। क्रान्तिकारी चेतना र जागरणसहितको नयाँ राजनीतिक शक्तिको निर्माण गर्नेछौँ।”
असन्तुष्ट समूहले पार्टीमा एकता प्रक्रियामा हतार गरेको भन्दै नेतृत्वप्रति असन्तोष पोखेका छन्। उनीहरूले माओवादीसँगको एकता “आदर्शभन्दा पद र सत्ता केन्द्रित” भएको आरोप लगाएका छन्।
यता, अध्यक्ष नेपाल पक्षका नेताहरूले भने देशमा बाम एकता आवश्यक रहेको र त्यसैका लागि माओवादी केन्द्रसँग सहकार्य गर्ने निर्णय गरिएको बताइरहेका छन्।
पार्टीका बहुमत सदस्यहरू नेपाल पक्षमा उभिँदा खनाल पक्षले अब नयाँ संगठन निर्माणका लागि तयारी थालेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार आगामी दिनमा नेकपा (एकीकृत समाजवादी) औपचारिक रूपमा दुई धारमा विभाजित हुन सक्ने सम्भावना बढेको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




