काठमाण्डौं , ३० कार्तिक । देशभर तापक्रम क्रमशः घट्दै जाँदा चिसोको प्रभाव तीव्र रूपमा महसुस हुन थालेको छ। विशेषगरी काठमाडौं उपत्यकामा तापक्रम अचानक झर्दै गएपछि जनजीवनमा चिसोको अनुभूति बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आइतबार बिहान ५:४५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस रहेको छ।
ढकालका शब्दमा, “हिजो सोही समयमा ९.६ डिग्री थियो, त्यसपछि बिहान ८:४५ सम्ममा ९.२ मा झरेको थियो। आज भने ५:४५ मै ९.३ देखिएको छ, ८ बजेसम्म तापक्रम अझै घट्न सक्छ।”
मौसमविद्हरूका अनुसार प्रत्येक दिनको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। काठमाडौंसहित विभिन्न स्थानका तापक्रम महाशाखाले यही आधारमा सार्वजनिक गर्दै आएको छ।
लगातार बढ्दो चिसोका कारण स्वास्थ्यमा विशेष सावधानी अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन् – विशेषगरी बिहान–बेलुका बाक्लो कपडा लगाउने, साना बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा ध्यान दिने, र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।





