काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। पहिलो पटक फ्लड लाइट र प्यारापिट सहितको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएल आयोजना हुन लागेको हो।
नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको उद्घाटन अपरान्ह २ बजे हुनेछ भने पहिलो खेल ४ बजे खेलाइनेछ। प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ र यसमा लिग चरण, तीन प्लेअफ र फाइनल गरी कुल ३२ खेल हुनेछन्।
त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र १० हजार दर्शक बस्न सक्ने प्यारापिट निर्माण गरिएकोले क्रिकेट प्रेमीबीच उत्साह थपिएको छ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्नेछन्।
प्रतियोगिताको विजेताले पुरस्कार स्वरूप रु १ करोड १० लाख पाउनेछ। उपविजेताले रु ५१ लाख, तेस्रो स्थानले रु २५ लाख र चौथो स्थानले रु १५ लाख प्राप्त गर्नेछन्।
यस पटक एनपीएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमै हुनेछन्। नेपाल क्रिकेट सङ्घले दैनिक ९,४५० टिकट बिक्री गर्ने जनाएको छ भने पहिलो दिनको टिकट दुई दिन अगाडि नै सकिएको छ। उद्घाटन दिन साधारणतर्फ टिकट रु ५०० र प्रिमियर रु १,५०० रहेको छ।
एनपीएलमा आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्दैछन्: साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स। यसबाट नेपाल क्रिकेट सङ्घले रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




