धादिङबेसी, १५ माघ – धादिङ जिल्लाको आर्थिक, सांस्कृतिक र व्यावसायिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित दशौँ धादिङ महोत्सव धादिङबेसीको खुला मञ्चमा सुरु भएको छ। “कृषि, पर्यटन, जलस्रोत र उद्योग : दिगो विकासको आधार” भन्ने नारासहित सुरु भएको महोत्सव २५ माघसम्म सञ्चालन हुनेछ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबार आयोजित विशेष समारोहमा महोत्सवको उद्घाटन गर्दै निजी क्षेत्र सुदृढ नभएसम्म मुलुकको अर्थतन्त्र मजबुत हुन नसक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्र कमजोर हुँदा कर संकलन, रोजगारी र उत्पादन प्रणाली नै प्रभावित हुने भन्दै सरकारले निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
अध्यक्ष ढकालले आर्थिक मन्दीका कारण उद्योग व्यवसायले ठूलो चुनौती भोगिरहेको उल्लेख गर्दै निजी क्षेत्र केवल नाफामुखी मात्र नभई राजस्व, रोजगारी र आर्थिक गतिविधिको मुख्य आधार भएको स्पष्ट पार्नुभयो। साथै, धादिङ र गोरखा जिल्लाको सिमानामा निर्माण प्रस्तावित बूढीगण्डकी जलविद्युत आयोजनालाई ढिलाइ नगरी अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो।
महोत्सवको औपचारिक कार्यक्रमअघि धादिङबेसी बजार क्षेत्रमा विविध जातजातिका सांस्कृतिक झाँकीसहित र्याली निकालिएको थियो। तामाङ, नेवार, चेपाङ, गुरुङ, कुमाल, बारम तथा क्षेत्री समुदायका महिला समूहहरूले मौलिक भेषभूषा र नाचगानसहित बजार परिक्रमा गर्दा बजार क्षेत्र उत्सवमय बनेको थियो। घोडचढी नाच, चुड्का भजन र पञ्चेबाजाले जिल्लाको सांस्कृतिक विविधता झल्काएको थियो।
महोत्सवकै अवसरमा धादिङ उद्योग वाणिज्य संघले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको पक्षमा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। संघका अध्यक्ष रामकुमार डल्लाकोटीले महोत्सवले जिल्लाका कृषि उत्पादन, घरेलु उद्योग र स्थानीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
**नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले यस्ता मेला–महोत्सवले स्थानीय उद्यमीलाई प्रोत्साहन गर्नुका साथै आन्तरिक पर्यटन विस्तारमा सहयोग पुग्ने बताउनुभयो।
धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीका अनुसार महोत्सव मनोरञ्जनमा मात्र सीमित नभई साना तथा घरेलु उद्यमीहरूका उत्पादनको बजारीकरण, संस्कृतिको संरक्षण र स्थानीय अर्थतन्त्र चलायमान बनाउन प्रभावकारी माध्यम बनेको छ।
आयोजकका अनुसार महोत्सवमा हुने कारोबारले होटल, यातायात तथा साना व्यवसायीहरूलाई प्रत्यक्ष फाइदा पुर्याउने अपेक्षा गरिएको छ। महोत्सवमा व्यावसायिक ११० र प्रदर्शनीका ४८ गरी कुल १५८ स्टलराखिएका छन्। स्थानीय परिकार, मौलिक खानाको प्रदर्शनी, बाल उद्यान तथा राष्ट्रिय र स्थानीय कलाकारहरूको दैनिक सांस्कृतिक कार्यक्रम महोत्सवका प्रमुख आकर्षण हुन्।
महोत्सवमार्फत धादिङको सुनौलाबजारस्थित भैरवी मन्दिरलगायत धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ।





