धादिङ-धादिङ जिल्लामा ५० दशमलव २९ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक रिपोर्ट अनुसार जिल्लामा रहेका कुल दुई लाख ७५ हजार दुई सय ८० मतदातामध्ये एक लाख ३८ हजार चार सय ४७ जनाले मतदान गरेका छन्।
जिल्लामा रहेका एक सय १४ मतदानस्थलबाट मतपेटिका सङ्कलन गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम सुरु भएको छ। धादिङ निर्वाचन क्षेत्र नम्बर १ को मतपेटिका गल्छी गाउँपालिकाको महेशदोभानस्थित निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नम्बर २ को मतपेटिका सदरमुकाम धादिङबेसीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरिने जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिव बहादुर गुरुङले जानकारी दिनुभयो।
गुरुङका अनुसार क्षेत्र नम्बर १ का मतपेटिकाहरू आजै राती १२ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरिसकिने छ। क्षेत्र नम्बर २ अन्तर्गत पर्ने रुवीभ्याली, खनियाबास र गंगाजमुना गाउँपालिकाका मतदान केन्द्रहरूको मतपेटिका भने भौगोलिक विकटताका कारण शुक्रबार दिउँसो मात्र सदरमुकाम आइपुग्नेछन्। सदरमुकाम आसपासका पालिकाहरूबाट भने आजै मतगणनास्थलमा मतपेटिका ल्याइने तयारी छ।





