काठमाडौँ । नेपाल सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको जेठ मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ऋणको आकार २ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँले बढेको हो । गत असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ मात्रै थियो ।
हाल कायम कुल ऋणमध्ये बाह्य ऋणको हिस्सा १५ खर्ब ८३ अर्ब ९१ करोड (५३.४९ प्रतिशत) र आन्तरिक ऋणको हिस्सा १३ खर्ब ७७ अर्ब २८ करोड रुपैयाँ (४६.५१ प्रतिशत) रहेको छ । यो ऋण रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ४४.८७ प्रतिशत हुन आउँछ ।
सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा जेठ मसान्तसम्म वार्षिक लक्ष्यको ७०.२० प्रतिशत अर्थात् ४ खर्ब १८ अर्ब १२ करोड रुपैयाँ मात्र प्राप्त गर्न सफल भएको छ । यस अवधिमा आन्तरिक ऋण संकलनको प्रगति सन्तोषजनक देखिए पनि वैदेशिक ऋण परिचालन निकै सुस्त देखिएको छ । आन्तरिकतर्फ वार्षिक लक्ष्यको ९३.५५ प्रतिशत ऋण उठिसक्दा बाह्य ऋण भने लक्ष्यको जम्मा ३४.०१ प्रतिशत मात्र प्राप्त भएको छ । जेठसम्म उठाइएको कुल ऋणमा आन्तरिकको हिस्सा ८१ प्रतिशत र बाह्यको हिस्सा १९ प्रतिशत रहेको छ ।
यसैगरी सरकारले चालु आर्थिक वर्षमा ऋणको सावाँ-ब्याज भुक्तानी (ऋण सेवा खर्च) का लागि कुल ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये जेठ मसान्तसम्म ८५.५८ प्रतिशत अर्थात् ३ खर्ब ५१ अर्ब ७४ करोड रुपैयाँ भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । यो खर्च कुल गार्हस्थ्य उत्पादनको ५.३३ प्रतिशत बराबर हो ।





