प्रकाश सायमी
कुनै दिन तिमी मुसा थियौ,
त्यो पहिलो सत्य थियो
पछि तिमीले मुसाको मासु खान बिरालो भयौ …
स्वभावैले तिमीलाई बिरालो भन्दा शक्तिशाली बन्नु थियो
तिमीले रूप फेरेर कुकुर भयौ …
कुकुर भएर तिमीले दासता बाहेक केही स्वीकारेनौ
फेरि तिमीले रूप परिवर्तन गर्यौ
तिमीलाई कुकुर भन्दा बलियो बन्नु थियो
तिमीले अवतार परिवर्तन गरेर बाघ भयौ ।।
बाघै त थियौ तिमी ..
तर बाघ भएर पनि तिम्रो अहम् बद्लिएन ..
बाघलाई पनि शासन गर्न तिमी
विस्तारै विस्तारै …
सिंह बन्दै गयौ …
सबैको राजा सिँह ।
सिंह त कहाँ थियौ र तिमी ?
आवरण मात्रै त थियो ,
आफूलाई छोप्ने र अरूबाट बच्ने
तिम्रो खोक्रो आवरण ।
बिरालोदेखि कुकूर
कुकुरदेखि बाघ
बाघदेखि सिँह हुँदा
तिमीले धेरै पटक अवतार बदल्यौ
तर तिमीले तिमी भित्रको मुसाको
लोभ कहिल्यै बदल्न सकेनौँ ।
तिमीभित्र मुसा सधैँ बाँचिरह्यो ..
अन्ततः तिमी मुसा नै हौ ।