काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस र नेकपा (एमाले) मिल्दा प्रतिगमन र निरङ्कुशताको डर पैदा भएको बताउनुभएको छ। आज जारी प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा यस्तो बताउनुभएको हो ।
उहाँले संसदको पहिलो र दोस्रो ठुलो दललाई विश्वासले नजोडेको जिकिर गर्नुभयो । उहाँले सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिष्पर्धी दलहरू मिलेर सरकार नबनाउने अभ्यास रहेको उहाँको भनाइ छ ।
उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकारमात्र बनाउने मात्र नभई रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको खतरा रहको उहाँले आशंका व्यक्त गर्नुभयो । नियत सफा भएमा पहिलो र दोस्रो दल मिल्न बन्द कोठा नचाहिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सम्मानित सदनबाट मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्रीमा रहुँला नरहुँला, म बिल्कुल चिन्तित छैन । म चिन्तित पछिल्ला नाटकीय घटनाक्रमबाट छु । संसद्को पहिलो र दोस्रो ठलो दललाई विश्वासले जोडेको भए चिन्ताको विषय हुने थिएन, डरले जोड्यो ।’ तपाईंहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन ? उहाँले प्रश्न गर्नुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।