काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
आचार्यलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन् । नेकपा एमालेका सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
मुख्यमन्त्री आचार्यलाई कांग्रेस र एमालेसहित अन्य पाँच दलका सांसदले पनि विश्वासको मत दिने भएको एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बताउनुभयो । ती दलले विश्वासको मत दिन ह्विप पनि जारी गरेका छन् ।
लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । यी दुई दल मात्रै भए पनि सरकार बनाउन बहुमत पुग्छ । ११ वटा दल क्रियाशील रहेको लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन् । मुख्यमन्त्री आचार्यलाई सात वटा दलका सांसदले मत दिएका खण्डमा दुई तिहाइ समर्थन प्राप्त हुन सक्ने बताइएको छ ।
एमालेका प्रमुख सचेतक चौधरीले गत शनिवारकै संसदीय दलको बैठकबाटै मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न एमालेका सबै सांसदलाई ह्विप जारी गरिसकेको जानकारी दिनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।