काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । दिनभरको उतारचढावका बीच अन्तिममा ६ अंकले बढेर नेप्से २९ सय ७४ दशमलव ४६ अंकको विन्दुमा बन्द भएको छ ।
नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ वटा उपसमूहको परिसूचक घटेको छ ।
विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव ५२ प्रतिशत बढ्दा वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढी बढेको छ । तर लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
आज सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । तर सिद्धार्थ बैंकको ऋणपत्रको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
आज कारोबार रकम पनि सामान्य बढेको छ । हिजो बुधबार १८ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएकोमा आज विभिन्न कम्पनीको ४ करोड ९ लाख ५१ हजार कित्ता शेयर १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।