काठमाडौं । ब्राजिलको साउपाउलो विमानस्थल ट्रान्जिटमा १७६ नेपाली अलपत्र परेको नेपाली दूतावासले जानकारी दिएको छ । उनीहरूलाई आवश्यकता अनुसार मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा रहेको भन्दै नेपाली दूतावासले मंगलबार विज्ञप्ति जारी गरेको हो ।
विज्ञप्तिमा भनिएको छ , ‘दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो छ ।
संगठित रूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरू यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठुलो धनराशि खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ ।’
यस्तो अवस्थामा ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपालसहित केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको दूतावासले जनाएको छ ।
‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।