राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीविरुद्ध पुनरावेदन निवेदन दिएका छन्। महामन्त्री ढकालले आइतबार पुनरावेदन समितिलाई आइतबार निवेदन दिएका हुन्।
पुनरावेदन निवेदनमा ढकालले आफूलाई पार्टीका सबै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णय त्रुटिपूर्ण रहेको बताएका छन्। साथै, उनले पार्टीको अभिलेखबाट हटाई आफूलाई साविककै पदीय हैसियतमा काम गर्ने वातावरण मिलाइदिन उनले निवेदनमा माग गरेका छन्।
‘म पुनरावेदकले पार्टीको सभापतिबाट भए गरेको गैर कानूनी कार्य र वहाँविरुद्ध राज्यको विभिन्न निकायबाट भैरहेको अनुसन्धान, अदालतमा विचाराधिन दोहोरो पासपोर्ट जस्ता गम्भीर प्रकृतिका तथा आम नागरिक समेतबाट उठेको सहकारी रकम ठगी र दुरुपयोग जस्ता कार्यको विरोध गरेको कारण सभापतिबाट व्यक्तिगत रुपमा मलाई लक्षित गरी पार्टीबाट विभिन्न कारबाहीहरू भइरहेको अवस्था छ भने मलाई पदमुक्त गर्नु समेत यसै विरोधको निरंकुश उपज हो,’ पुनरावेदन निवेदनमा उनले भनेका छन्।





