काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडिया लगायतमा सहकारीबाट गलत ढंगबाट रकम गएको स्थापित भएको बताउनुभएको छ ।
रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि सोमबार धनगढी जानुभएका सभापति लामिछानेले पत्रकारहरूसँगको कुराकानीमा गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम आएको स्थापित भएको विषय रहेको बताउनुभएको हो ।
लामिछाने विगतमा गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । क–कसको संलग्नता छ भन्नेबारे अहिलेसम्म बाहिरिएका प्रहरी प्रतिवेदन लगायतले देखाएको पनि उहाँको भनाइ थियो।
‘मैले त्यसबाट लाभ लिएको हुनुपर्यो, मेरो सहभागीता भएको हुनुपर्यो। म भएका बेलामा पैसा आएको हुनाले जिम्मेवारी लिनुपर्छ भन्नुभयो। भएका बेला ल्याउने मान्छे कोहो ? म भएकै बेलामा कसले ल्यायो ? कसरी चाहि मिलेमतो गर्यो भन्ने कुराको सम्पूर्ण विवरण प्रहरी प्रतिवेदनहरूले दिएकै छन्। अदालतमा मुद्दा दायर हुँदा प्रतिवादीहरू कायम भएकै छन्। बिगो कायम भएकै छन्,’ उहाँले भन्नुभयो ।
त्यसैगरी प्रतिनिधि सभाले गठन गरेको सहकारी संस्था बचत दुरूपयोगसम्बन्धी विशेष संसदीय छानबिन समितिका सभापति सूर्य थापाले मेहनत गरेको र यसले सहकारी पीडितहरूका लागि निकास निस्कने अपेक्षा रहेको पनि बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।