काठमाण्डाै – सभामुख देवराज घिमिरेले ‘हिंसा’ शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताउनुभएको छ । साथै उहाँले आउँदा दिनमा शब्द छनोटमा ध्यान दिन पनि अनुरोध गर्नुभएको छ ।
गएको भदौ १२ गते संसद् बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गर्नुभएको थियो । परामर्श समिति र संसद् सचिवालयको परामर्श लिएर हिंसा शब्द अभिलेखबाट हटाउन नपर्ने निर्णय लिएको सभामुख घिमिरेले बताउनुभयो । आजको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उहाँले हिंसा शब्द हटाउन नपर्ने बताउनुभएको हो ।
तर बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हिंसा शब्द संविधान र कानुन विपरीत भएको भन्दै आपत्ति जनाउनुभयो । लगत्तै एमाले सांसद रघुजी पन्तले सभामुखको रुलिङमा प्रश्न उठाउने विषय नभएको उल्लेख गर्नुभयो । माओवादीका सांसदहरूले उठेर आपत्ति जनाएपछि आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक आउँदो ३० गते आइतवार दिउँसो १ बजे बस्नेछ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।