बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको ज्यान गएको छ । दुर्घटनामा ३३ वर्षीया बुढासँगै उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा वडा नं २ का अध्यक्ष जसबीर सिर्पालीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा१झ २०० नम्बरको सरकारी जीप आज बिहान गलकोट–२ भुङ्खानीमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । तीनै जनाको घट्नास्थलमै ज्यान गएको उहाँले बताउनुभयो । घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ ।
रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काका अनुसार उक्त जीपमा पुथाउत्तरगङ्गा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाण्डौ जानुभएको जानकारी पाएको उहाँले बताउनुभयो ।
दुर्घटनास्थलमा परिचयपत्र फेला परेपछि मात्र दुर्घटनामा उपाध्यक्ष बुढा परेको खुलेको थियो । बिहानै जीप दुर्घटनामा परे पनि स्थानीयले घाँस काट्न जाने बेलामा देखेपछि उनीहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए । जीपमा कति जना सवार थिए भन्ने यकिन नभएको सहायक प्रजिअ खड्काले बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।