काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नै पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गर्नुभएको छ ।
चौधरीले प्राइम टाइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तर्वार्तामा कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता भूभागहरु भारतकै हुन् भनेर देशद्रोही अभिव्यक्ति दिएको भन्दै खनालले उहाँलाई कारबाहीको माग गर्नुभएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो कस्तो विचित्रको अभिव्यक्ति हो ? यो भारतीय नागरिक बोल्दै छ कि नेपाली नागरिक ? यो त सोह्रै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो । यो देशद्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो ।’
खनालले आफ्नै पार्टीका उपमहासचिव मेटमणिलाई कारबाही माग गर्दै सार्वजनिक गरेको विज्ञप्तिमा उनको नाम भने उल्लेख गर्नुभएको छैन । खनालले ‘हाम्रो पार्टीका एक जना उपमहासचिव’ लेखेर विज्ञप्ति निकाल्नुभएको छ ।
यस विषयमा चौधरीसँग एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले स्पष्टीकरणसमेत माग्नुभएको थियो । सो स्पष्टीकरणमा चौधरीले बोल्ने क्रममा जिभ्रो चिप्लिएको जिकीर गर्नुभएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।