काठमाडौँ । सहकारीको रकम अपचलन मुद्दामा आफू पक्राउ पर्न लागेको सूचना पाएपछि रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री केपि ओली शर्मालाई कटाक्ष गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले आईतबार राती प्रधानमन्त्री ओलीलाई चेतावनी शैलीमा न्युयोर्कबाट आँखा नसन्काउनु भन्दै कटाक्ष गरेका हुन् ।
गएराती सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सहकारी पीडितको मुद्दामा न्याय दिलाउने वास्तविक चाहना भए छलफलमा आउन आग्रह गरेका छन् ।
लामिछानेले भनेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु,फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि…’
आइतबार गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी सहकारी बचत अपचलन प्रकरणमा पक्राउ परेपछि लामिछाने पनि पक्राउ पर्ने हल्ला चलेपछि रास्वपाभित्र खलबली मच्चिएको थियो ।
पक्राउ पर्ने खबर मिडियामा एक पछि अर्को गर्दै आएपछि बनस्थलीस्थित पार्टी कार्यालयमा शिर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । छलफलपछि केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफू नडराउने भन्दै पक्राउ गरे प्रतिवाद गर्ने घोषणा गरेका थिए ।
यसैबीच उपसभापति डा. स्वर्णीम वाग्लेसहित चीन गएको १० नेताको टोलीलाई पनि रास्वपाले जति सक्दो छिटो देश फर्किन निर्देशन दिएको छ । वाग्लेसहितको टोली आज काठमाडौँ आइपुग्ने बताइएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।