काठमाडौं-काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा विधिवत रुपमा जमरा राखिएको छ ।बिहीवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिन्छ । हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत बिहान ९ः१६ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाईं गरिएको छ । दशैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । बिहीवार बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँ घरमा जमरा छर्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ । नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । सो अवसरमा गुर्जु पल्टनका गुल्मपति सेनानी अनिल श्रेष्ठले घटस्थापना परापूर्वकालदेखि नै मनाउँदै आएको र सबैको घरहरुमा जमरा आज राखिएको बताउनु भयो । उहाँले हनुमान ढोकामा गुर्जुपल्टनमा जमरा राख्ने, नित्य पूजा गर्ने प्रचलनअनुसार पूजा गरी जमरा राखिएको बताउनु भयो ।
नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ । विशेषतः जमरा जौ को राख्ने गरिन्छ । तर आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
