काठमाडौं, भदौ २३ – राजधानी केन्द्रित जेन-जीको भ्रष्टाचारविरोधी आन्दोलनमा सोमबार प्रहरीले गोली प्रहार गर्दा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ।
काठमाडौंको नयाँ बानेश्वर वरपर केन्द्रित प्रदर्शनका क्रममा प्रहरीले पानीको फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो। त्यसमध्ये ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १ र केएमसीमा २ जनाको मृत्यु भएको छ।
यस्तै, इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर थप २ जनाको ज्यान गएको छ।
विभिन्न अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको छ। सिभिल अस्पतालमा मात्रै १०० जना, एभरेस्ट अस्पतालमा १०२, ट्रमा सेन्टरमा ५९, केएमसीमा ३७, त्रिवि शिक्षण अस्पतालमा १८, वीरमा ६, पाटनमा ४, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १, विराट मेडिकल कलेजमा ४ र दमक अस्पतालमा ७ जना घाइते उपचाररत छन्।
एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थामा छन् भने ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेका अनुसार त्यहाँ १० जना गम्भीर घाइते छन्। उनीहरूको टाउको र छातीमा गोली लागेको छ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौंसहित देशका प्रमुख सहरहरूमा ‘जेन–जी’ को प्रदर्शन भइरहेको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
