धादिङ, १९ फागुन । धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाँकोटस्थित नागिन्थान लामिछानेटोलमा सोमबार राति भएको कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय तारा लामिछाने रहेका छन्।
फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न स-परिवार काठमाडौंबाट गाउँ आएका लामिछानेको सोमबार राति ११ बजे आफ्नै घर अगाडि गाडी दुर्घटना भएको हो। घर अगाडि गाडी ब्याक गर्ने क्रममा बा ३ च ४५५२ नम्बरको कार अनियन्त्रित भई करिब १५० मिटर तल खसेको स्थानीयले बताएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका लामिछानेलाई तत्काल उपचारका लागि काठमाडौं लगिएको थियो। काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको हो। मृतक लामिछाने सोही अस्पतालमा गाडी चालकको रूपमा कार्यरत हुनुहुन्थ्यो। मतदानका लागि उत्साहका साथ परिवारसहित गाउँ पुगेका लामिछानेको घर आगनमै भएको यो दुःखद घटनाले यतिबेला धुवाँकोट गाउँ शोकमग्न बनेको छ। उहाँको उपचारकै क्रममा सोही अस्पतालमा निधन भएको हो।





