काठमाडौं । देशलाई छिट्टै पूर्णरूपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्था बनेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।
प्राधिकरणको कार्यकारी निर्देशकमा पछिल्लो पटक नियुक्त भएको तीन वर्ष पूरा भएको अवसरमा आज पत्रकार सम्मेलन गरी उहाँले उपलब्धि सार्वजनिक गर्नुभएको छ । मन्त्रिपरिषद्को २०७८ साल साउन २५ गतेको निर्णयले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो । यसअघि पनि उहाँ एक कार्यकाल कार्यकारी निर्देशक हुनुभएको थियो ।
आठ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७२र७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । त्यसमा तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत पुगेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको प्रगति विवरणमा उल्लेख छ । अब छिट्टै पूर्णरूपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्था बनेको उहाँको भनाइ छ ।
साथै नेपालबाट बङ्गलादेशमा बिजुली निर्यात यसै वर्ष शुरू हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको विश्वास छ । अहिले आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बङ्गलादेशका निकायबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको छ । तर अहिले बङ्गलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले सम्झौता रोकिए पनि अवस्था सहज हुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष बिजुली निर्यात शुरू हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विश्वास व्यक्त गर्नुभयो ।
आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । त्यस्तै आठ वर्षअघि प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको र त्यसयता चुहावट नियन्त्रणका लागि चालिएका कदमबाट १२ दशमलव ७३ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । चुहावट नियन्त्रणबाट प्राधिकरणले यस अवधिमा प्रतिवर्ष झन्डै १२ अर्ब रुपैयाँ थप आम्दानी गरेको छ ।
उहाँका अनुसार अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको वितरण प्रणाली नियन्त्रण तथा डेटा सेन्टर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने कार्यकारी निर्देशक घिसिङले बताउनुभएको छ ।
<iframe src=”https://drive.google.com/file/d/1s3eVjPBmSqRGKWnEdBSSyclexO5_ICGS/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।