काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय संसद्का दुवै सदनका सांसदहरूले एकसाथ ध्यान र योग गर्ने भएका छन् । जीवन विज्ञान प्रतिष्ठानले संसद् सचिवालयसँग मिलेर भदौ १४ गते ध्यान शिविर गर्न लागेको हो ।
प्रधानमन्त्री ओली प्रमुख अतिथि रहने सो कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहित दुवै सदनका सांसदहरूको सहभागितामा ध्यान शिविर हुन लागेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा हुने सो कार्यक्रममा सहभागी हुन सांसदहरूलाई योगाभ्यास गर्न सहज हुने खुकुलो पोसाक लगाएर आउन आयोजक जीवन विज्ञान प्रतिष्ठानले आग्रह समेत गरेको छ ।
कार्यक्रमपछि आयोजकले सांसदहरूलाई माछा मासु बिनाको सात्त्विक भोजनको पनि व्यवस्था गरेको छ । कार्यक्रम बिहान ८ देखि साढे ११ बजेसम्म हुने कार्यक्रम व्यवस्थापक अभिषेक अधिकारीले जनाएका छन् ।





