काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस'(एचपीभी) खोप ल्याएको छ ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले ‘एचपीभी’ खोपका लागि ग्लोबल एलायन्स (गाभी) को सहयोगमा चार लाख ६० हजार नौ सय ४० मात्रा खोप आएको बताउनुभयो ।
ती खोपलाई अहिले टेकुमा रहेको भण्डारण कक्षमा राखिएको र बिस्तारै प्रदेशमा पठाइने उहाँले बताउनुभयाे । सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आउँदो माघ २३ गतेदेखि खोप अभियान सञ्चालन गर्न तयारी तीव्र बनाएको छ ।
१५ दिने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार १७ लाख ७० हजार मात्रा गाभीले नेपाललाई उपलब्ध गराउने छ ।
हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेको तथ्याङ्क छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।