काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ ।
निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार मन्त्रालयले फागुन १ गतेबाट परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो ।
देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मुगौला सम्बन्धी रोग तथा शरिरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए । मन्त्रालयले यो सेवा निःशुल्क गर्ने बताएको छ । ‘स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्ष माथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ,’ प्रवक्ता बुढाथोकीले भने ।
गत साउन २७ गते उनले प्रस्तुत गरेको योजना तथा प्राथमिकतामा रोगको उपचारसँगै निरोधात्मक विधिबाट समयमै नागरिकका स्वास्थ्य समस्या थाहा भाएर उपचार गराउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने उल्लेख थियो ।
फागुन महिनामा पाठेघरको मुखको क्यान्सरबिरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी मन्त्रालयको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
