चितवन । असार २८ गते विहान चितवनको भरतपुर–२९, सिमलतालमा पहिराले बगाएर हराईरहेको बससंगै बेपत्ता भएकामध्ये असार ३१ गते सांझ सम्ममा १४ जनाको शव भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अहिलेसम्म भेटिएकामध्ये सात जनाको सनाखत भएको र सात जनाको सनाखत हुन बाँकी रहेको छ ।
भेटिएकामध्ये हालसम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा १० जना, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।
पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरीले जनाएको छ ।
सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तीमा २७ जना र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा ३८ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीनजना त्रिशूली नदीमा पौडी खेलेर बाँच्न सफल भएका थिए ।
जिल्ला प्रशासनले अहिले पनि खोजी कार्य जारी रहेको दुवै बस फेला पर्न नसकेको जनाएको छ भने खोजी कार्यमा सहयोग गर्न सबैलाई अपिलसमेत गरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।