काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।
आज शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका संघीय संसदका पदाधिकारीहरुले सो भवनको निर्माण कार्यप्रति सम्बन्धित निकायसँग चासो व्यक्त गरेपछि उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
उपप्रधानमन्त्री सिंहले आफू भर्खरै मन्त्रालयमा आएकाले सम्बन्धित निकायसँग छलफल गरेर त्यसको विस्तृत विवरण सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहाललगायतका पदाधिकारीहरुलाई उपलब्ध गराउने र त्यसलाई समयमै अझ राम्रो ढंगले काम गराउन लागिपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढलाई नगरी काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो ।
उपप्रधानमन्त्री सिंहले सो भवन निर्माणका लागि कुनै समस्या भए हटाएर अघि बढ्न पनि आफूले पहल गर्ने बताउनुभयो ।
त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले सो भवन समयमै सम्पन्न गर्नका लागि चासो व्यक्त गर्नुभएको भन्दै सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहाललगायतप्रति आभार व्यक्त गर्नुभएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।