काठमाण्डौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ ।
एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जना सांसदको समर्थनमा दाबी पेश गर्नुभएका आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
एमाले प्रदेश संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भए पनि एकाएक एमालेले गिरीको ठाउँमा आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको हो । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले केन्द्रको निर्देशनमा आचार्यलाई अघि सारिएको बताउनुभयो ।
लीला गिरी एमालेका उपाध्यक्ष विष्णु पौडेल निकट मानिनुहुन्छ । तर महासचिव शङ्कर पोख्रेलले केन्द्रबाट हस्तक्षेप गरेर आफू निकट चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन लाग्नुभएको एमाले स्रोतले बताएको छ । गिरीले भने उपाध्यक्ष र महासचिवबीचको विवादका कारण आफू अन्यायमा परेको गुनासो गर्नुभएको छ ।
आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ ९क० बाट निर्वाचित हुनुभएको हो । लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने एमाले र कांग्रेसबीच सहमति भएको छ । लुम्बिनीमा एमाले र कांग्रेसको सहज बहुमत रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
