काठमाडौं । गृहमन्त्री रमेश लेखकले छोराको प्रमाणपत्र समकक्षता प्रमाणीकरणका लागि ५ हजार घुस दिएको घटनाको छानबिन गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । घटनालाई गम्भीरतापूर्वक लिएको मन्त्री लेखकले बताउनुभयो ।
आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै लेखकले घुस बुझाएका सांसद वीरेन्द्र महतोसँग आफूले कुरा गरेको बताउनुभयो । ‘छोराको सर्टिफिकेट सम्बन्धमा माननीय सदस्यले ५ हजार रूपैयाँ घुस दिनुपरेको भन्ने सम्बन्धमा मैले व्यक्तिगत रूपमा सोधेर घुल माग्ने व्यक्ति चिनाइदिन आग्रह गरेको छु,’ मन्त्री लेखकले संसद्मा भन्नुभयो, ‘तत्काल छानबिन गर्नका लागि प्रहरीलाई निर्देशन दिइएको छ । सरकारले गम्भीरतापूर्वक लिएको छ ।’
यसअघि जसपा नेपालका सांसद एवं पूर्वमन्त्री वीरेन्द्र महतोले आफूले छोरोको सर्टिफिकेट प्रमाणित गर्न शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमीको एक कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको आइतबार संसद्मा बताउनुभएको थियो ।
मंगलबारको बैठकमा कांग्रेस सांसद राजन केसीले यति गम्भीर विषयमा सरकारलाई जवाफका लागि रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।