पेरिस, फ्रान्स — विश्वप्रसिद्ध लुभ्र संग्रहालयमा भएको चर्चित गहना चोरी प्रकरणमा फ्रान्सेली प्रहरीले थप दुई सन्दिग्धलाई अभियोग लगाएकोछ। दुई हप्ता अघि संग्रहालयबाट करिब १० करोड अमेरिकी डलर बराबरका शाही गहना चोरी भएका थिए, तर चोरी भएका ती गहना अझै फेला पार्न सकिएको छैन।
शनिबार पेरिस अभियोजन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि बुधबार पक्राउ परेका पाँच जनामध्ये दुईलाई औपचारिक रूपमा अभियोग लगाइएको हो। अभियोग लागेकामध्ये एक जना ३७ वर्षीय पुरुष हुन्, जसलाई संगठित चोरी र आपराधिक षड्यन्त्रको आरोप लगाइएको छ। उनलाई चार सदस्यीय टोलीको सदस्य मानिएको छ। त्यस्तै, ३८ वर्षीया महिलालाई पनि शनिवार षड्यन्त्र र चोरीमा संलग्न भएको आरोपलगाइएको छ।
उनीहरूलाई शनिबार अदालतमा पेश गरिएको थियो र महिलालाई हालका लागि हिरासतमा राखिएको फ्रान्सेली सञ्चारमाध्यमहरूले जनाएका छन्। ती महिलाको नाम सार्वजनिक गरिएको छैन। उनलाई यसै हप्ता अन्य चार जनासँगै पक्राउ गरिएको थियो।
यसअघि टोलीका अन्य दुई पुरुषलाई पनि एक हप्ता अघि पक्राउ गरिएको थियो। उनीहरूमाथि पनि यस्तै प्रकारका आरोप लगाइएका छन्। शनिबार अभियोग लागेका दुई व्यक्ति डीएनए र मोबाइल फोन रेकर्डमार्फत पहिचान गरिएका थिए। पक्राउ परेका तर अभियोग नलागेका बाँकी तीन जनालाई प्रहरीले अनुसन्धानपछि रिहा गरेको छ।
सन्दिग्धहरूले संलग्नता अस्वीकार गरेका छन्। अभियुक्त महिलाका वकिल एड्रियन सोरेन्टिनोले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो मुवक्किल ‘निराश र निर्दोष रहेको’ दाबी गरे। अभियोग लागेकामध्ये एक जनालाई चार्ल्स डे गौल विमानस्थलबाट अल्जेरिया जाने तयारीको क्रममा पक्राउ गरिएको हो भने अर्कोलाई औबरभिलियर्सस्थित उनको घरबाट नियन्त्रणमा लिइएको थियो।
प्रहरीका अनुसार पहिलो दुई सन्दिग्धहरूको डीएनए चोरीको घटनास्थलमा भेटिएको थियो। अभियोजकले भनेका छन् कि एक जना देश छोड्न लागेकाले समयभन्दा अघि नै पक्राउ गर्नु परेको थियो। प्रारम्भिक बयानमा ती दुईले चोरीमा “आंशिक रूपमा संलग्न” रहेको स्वीकृति दिएको बताइन्छ।
यो दिनदहाडै भएको साहसी चोरीले विश्वभर चर्चा पाएको छ। प्रत्यक्षदर्शीका अनुसार चोरहरूले मर्मत कार्य गरिरहेका मजदुरको जस्तो पहिरन र हेलमेट लगाएका थिए। उनीहरूले भर्याङ भएको ट्रक ल्याएर बाल्कोनीतर्फबाट झ्याल फुटाउँदै संग्रहालयभित्र प्रवेश गरेका थिए। त्यहाँबाट सिसाका खोल काटी गहना निकालिएको बताइन्छ। सुरक्षागार्डले चोरीको भिडियो खिच्न सफल भए पनि, चोरहरू मोटरसाइकलमा करिब १० मिनेटमै फरार भएका थिए।
तर भाग्ने हतारमा उनीहरूले हेलमेट, आरा, पन्जा, ग्यास क्यान, वाकी-टकी र सुरक्षात्मक भेस्ट घटनास्थलमै छोडेका थिए, जसले अनुसन्धानलाई सहज बनाएको छ।
घटनापछि लुभ्र संग्रहालयको सुरक्षाको अवस्था प्रति कडा प्रश्न उठेका छन्। संग्रहालयकी निर्देशक लरेन्स डेस कार्सले स्वीकार गरेकी छन् कि सम्पूर्ण परिसरमध्ये केवल एक तिहाइ मात्र भागमा भिडियो निगरानी प्रणाली कार्यरत थियो।
फ्रान्सकी संस्कृति मन्त्री रचिदा दाँतीले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा भनिएको छ, “लुभ्रमा विगत २० वर्षदेखि सुरक्षा प्रणाली र चोरी जोखिम व्यवस्थापनमा संरचनात्मक अवमूल्यन हुँदै आएको छ।”
फ्रान्सेली अधिकारीहरूले चोरीमा संलग्न सबै समूहहरू पहिचान गर्ने प्रयास जारी राखेका छन्। चोरी भएका शाही गहनाहरू फिर्ता हुने आशा अझै जिवित छ।
— एजेन्सी
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




