काठमाण्डु- नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेका छन् । शुक्रबार नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका झालाई प्रहरीले कंचनपुरबाट पक्राउ गरेको हो ।
झामाथि कारबाही अघि बढाउनको लागि आइतबार जिल्ला अदालत काठमाण्डुबाट म्याद थप गर्ने प्रहरीको तयारी छ । नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत पहिलो चरणको अनुसन्धानमा झाको सम्बन्ध नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग प्रत्यक्षरुपमा रहेको खुलेको थियो ।
उनले शीर्ष नेताहरुसँग यस प्रकरणमा आर्थिक लेनदेनको कारोबार गरेको पाइएको स्रोतको दाबी छ । झा पक्राउ परेसँगै यस प्रकरणमाथि छानबिन गर्न दोस्रो चरणको अनुसन्धान खुल्ने सम्भावना बढेको छ ।
गृहमन्त्री रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई अनुसन्धानमा तान्न खोजिरहेको स्रोतले बतायो । शीर्ष नेतासँग आर्थिक लेनदेनको कारोबार गर्ने झा पक्राउ परेसँगै आरजु अनुसन्धानमा तानिने सम्भावना बढेको छ ।
आरजुसँगै कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि अनुसन्धानमा तानिने स्रोतले जनाएको छ । हिजो मात्रै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बालका छोरा प्रतीकलाई पनि पक्राउ गरेको थियो ।
यसरी सुरु भयो शरणार्थी प्रकरण
सन् १९९० ताका भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरूलाई पूर्वी नेपालको झापा र मोरङका विभिन्न सिविरमा राखिएको थियो।
स्वदेश फिर्तीको पर्खाइमा रहेका एक लाखभन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान दिन नसकेपछि तेस्रो देश पुनर्वास रोज्न बाध्य भएका थिए।
उक्त योजनाअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेनमार्क, नेदरल्यान्ड्स र नर्वेमा अधिकांश शरणार्थीहरूको पुनर्वास भइसकेको छ ।
नेपालमा बाँकी भएका ६,००० भन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका बेलडाँगी तथा पथरी-शनिश्चरे सिविरमा छन्। तिनै बाँकी शरणार्थीको व्यवस्थापनबारे पहल भइरहँदा गृह मन्त्रालयले उनीहरुको अनुसूची तयार गर्न कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलले नीतिगत रूपमै भ्रष्टाचार गरेर पैसा उठाउँदै नेपाली नागरिकहरूलाई पनि शरणार्थीको सूचीमा राखेको उजुरीपछि प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।
अनुसन्धान सुरु भएपछि यस प्रकरणमा शीर्ष नेताहरुको नै संलग्नता रहेको पाइएको छ । उच्चपदस्थ राजनीतिक र प्रशासनमा रहेका व्यक्तिहरूको आडमा सङ्गठित गिरोहले नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको अनुसन्धानबाट खुलेको थियो । उक्त प्रकरणमा कांग्रेसका प्रभावशाली नेता समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खांड समेत प्रक्राउ परेका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।