काठमाडौँ । सरकारले आगामी वर्ष खेलकुदको भौतिक पूर्वाधारलाई विशेष प्राथमिकतामा राख्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खेलकुदको भौतिक पूर्वाधार निर्माणमा जोड दिइने बताए ।
‘खेलकुदको भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने छ,’ उनले भनेका छन् । राष्ट्रपति पौडेलले काठमाडौँको मुलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट मैदानको निर्माण कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइने बताए ।
यसै गरी उनले चीतवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा प्राथमिकताका साथ अघि बढाइने बताए ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिसहित थप निर्माण कार्य पनि प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरिएको छ ।
यसै वर्ष १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । देशको सबैभन्दा वृहत् खेलकुद प्रतियोगिताको १०औँ संस्करण कर्णाली प्रदेशमा हुने भनिएको छ । यसअघि कर्णाली प्रदेशमा वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको छैन ।
यसै गरी खेलकुदमा महिला सहभागिता बढाइने कुरा पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ । देशको मौलिक र परम्परागत खेलको प्रवर्द्धन गर्ने तथा प्रतिभावान् खेलाडीको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता बढाइने तथा आधुनिक प्रविधियुक्त अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
यसै गरी विद्यालस्तरमा शिक्षक र विद्यार्थीलाई खेलकुदको तालिम दिइने र खेलकुद क्षेत्रमा विशेष कार्यक्रमहरू सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसै गरी अन्तर्राष्ट्रिय प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार र सम्मानसहित जीवन निर्वाह भत्ताको व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सबैका लागि खेलकुद र योग अभ्यासको अवसर सृजना गरिने पनि उल्लेख छ ।
यसै गरी एक हजार युवालाई फेलोसिप उपलब्ध गराइने पनि राष्ट्रपतिले वाचन गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । युवालाई फेलोसिप उपलब्ध गराउनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने र युवा स्वयंसेवी कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने ।
काठमाडौँको मुलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट मैदानको निर्माण कार्य प्राथमिकतामा ।
चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य प्रदेश र स्थानीय सरकारको सहकार्यमा ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति र थप निर्माण कार्य अघि बढाइने ।
खेलकुदमा महिला सहभागिता बढाइने ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता बढाइने ।
आधुनिक प्रविधियुक्त अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने ।
मौलिक र परम्परागत खेलको प्रवर्द्धन गर्ने ।
प्रतिभावान् खेलाडीको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिने ।
विद्यालस्तरमा शिक्षक र विद्यार्थीलाई खेलकुदको तालिम दिइने ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार र सम्मानसहित जीवन निर्वाह भत्ताको व्यवस्था गरिने ।
सबैका लागि खेलकुद र योग अभ्यासको अवसर सृजना गरिने ।
एक हजार युवालाई फेलोसिप उपलब्ध गराइने ।
युवा स्वयंसेवी कार्यक्रम सञ्चालन गरिने ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।